समाचार
गेरूवा गाउँपालिकाको संक्षिप्त परिचय
गेरुवा गाउँपालिका नेपालको लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लामा रहेको छ । कैलालीको चिसापानी पुल देखी ५.४९ कि.मी. दक्षिण क्षेत्रबाट कर्णाली नदी दुई भागमा बिभाजित भई पश्चिममा कैलालीको जानकी गाउँपालिका र पुर्वमा बर्दिया राष्ट्रिय निकुञ्ज हुदै बगेको छ । यसरी दुई भागमा बिभाजित भएर पश्चिममा बगेकोलाई कर्णाली नदी र पुर्वमा बगेको नदीलाई गेरुवा नदीको नामले परिचित छ । कर्णाली नदी दुई भागमा बिभाजित हुँदा बिचमा रहेको टापुलाई यही क्षेत्र भएर बगेको गेरुवा नदीको नामबाट यस गेरुवा गाउँपालिकाको नामाकरण गरिएको हो । यो गाउँपालिका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ । गाउँपालिकाबाट बर्दिया राष्ट्रिय निकुञ्जको मनोरम दृश्य तथा निकुञ्जका वन्यजन्तु (बाघ, भालु, हात्ति, मृघ आदि) अवलोकन गर्न पाइन्छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले मिति २०७३-११-२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३-११-२२ मा साविकका पाताभार, गोला, पशुपतिनगर र मनाउ गा.वि.स. समावेश गरी जम्मा ६ वडाहरू कायम गरी गेरुवा गाउँपालिका घोषणा गरिएको हो ।
विश्व मानचित्रमा गेरुवा गाउँपालिकाको भौगोलिक अवस्थिति २८°२४' १८.१७" देखि २८°३५'३६.०४" उत्तरी आक्षांससम्म र ८१°८' ५१" देखि ८१°१५' १२" पूर्वी देशान्तरसम्म फैलिएको छ । यो गाउँपालिका समुद्री सतहबाट १४५ मिटरदेखि १८० मिटरसम्मको उचाइमा फैलिएको छ ।त्यसैगरी ७८.४१ वर्ग कि.मि. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा बर्दिया राष्ट्रिय निकुञ्ज, पश्चिममा राजापुर नगरपालिका, उत्तरमा कैलाली जिल्ला र दक्षिणमा राजापुर नगरपालिका रहेका छन् ।
यस गाउँपालिकाको कुल जनसंख्या ४०, ६५४ रहेको छ जसमध्ये पुरूष २०,८६४ र महिला १९,७९० जना रहेका छन् ।
बर्दिया जिल्लामा नयाँ गठन भएका गाउँपालिकाहरूमा विकासको राम्रो सम्भावना बोकेको गाउँपालिकाको रुपमा गेरुवा गाउँपालिका रहेको छ । यसका अतिरिक्त यहाँका सचेत राजनैतिक दल र उत्प्रेरित गाउँपालिकावासी समेत दरिलो अनि दीगो विकासको श्रोतका रुपमा रहेका छन् । तराई क्षेत्रमा रहेको यस गाउँपालिकामा व्यापार, उद्योग, कलकारखाना, प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरू रहेका छन् । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य मुख्य श्रोतहरूमा साना व्यापार, सेवामुलक व्यवसाय, नोकरी साथै वैदेशिक रोजगारी पनि एक हो । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढीरहेको छ । यस गाउँपालिकामा आधारभूतदेखि माध्यामिक शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्थाहरू रहेका छन् । अधिकांश घरमा विद्युतीकरण भएतापनि केही सीमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् ।
विगतमा लामो समयसम्म स्थानीय निकायमा जनप्रतिनिधिको अभाब, योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ ।